जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार २०:४९

सोमपालको अलराउन्ड प्रदर्शनमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित


काठमाडौं, कात्तिक १२ । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई रोमाञ्चक रूपमा पराजित गरेको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा पूरा गर्दै एक विकेट बाँकी छँदै जित निकालेको हो।

कर्णालीको जितमा कप्तान सोमपालले अविजित ६२ रन बनाए। उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे। बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका सोमपालले चार विकेट लिए।

अन्तिम ओभरमा कर्णालीलाई जितका लागि आठ रन आवश्यक थियो। पहिलो बलमा सोमपालले एक रन लिए भने गुल्सन झाले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन जोडे। त्यसपछि चौथो र पाँचौँ बलमा दुई–दुई रन लिँदै सोमपालले टोलीलाई जित दिलाए।

सोमपालले गुल्सन झासँग सातौँ विकेटका लागि ६४ रनको अविजित साझेदारी गरे। गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे।

कर्णालीले सुरुवातमै पाँच विकेट गुमाएपछि दबाबमा परेको थियो। मार्क वाट एक, दीपक डुम्रे २०, अकबर अली एक, अरिफुल इस्लाम ३२ र हुसेन तलत शून्य रनमा आउट भए।

त्यसपछि सोमपालले पवन सर्राफसँग छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले। पवनले २८ बलमा ३६ रन बनाए। विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए भने चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो।

विराटनगरका ओपनर लोकेश बमले सर्वाधिक ८७ रन बनाए। उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजसँग चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका लोकेश एनपीएलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न १३ रनले चुके।

म्याथ्युजले २२ बलमा ३१ रन बनाए। आन्द्रे रसेलले १५ बलमा २७, बसिर अहमदले १३ र सुजन थपलियाले अविजित रहँदै रन जोडे। इम्रान शेखले पाँच, चरिथ असलंकाले तीन र शेहान जयसूर्याले ११ रन बनाए।

कर्णालीका कप्तान सोमपालले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए। उनले लोकेश, रसेल, म्याथ्युज र असलंकालाई आउट गरे। मार्क वाट र नन्दन यादवले एक–एक विकेट लिए।

एनपीएलमा शुक्रबार कुनै खेल राखिएको छैन।