काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउन मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकमा सभापति गगनकुमार थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित अभियान सञ्चालन गरिने बताउनुभएको हो।
सभापति थापाले छिट्टै केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बसेर सबैको धारणा सुन्ने र त्यसका आधारमा चार वर्षे कार्यतालिका बनाएर अनुशासित ढङ्गले काम अघि बढाइने जानकारी दिनुभएको छ।
उहाँले प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारका कामको निगरानी गर्नु रहेको उल्लेख गर्दै कानुनी शासनको उल्लङ्घनविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने बताउनुभएको छ।
थापाका अनुसार तिहार र छठलगत्तै लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटले काम सुरु गर्नेछन्। नेता तथा कार्यकर्ताको रुचिअनुसार कार्यविभाजन गरिने र सहमहामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनासहित जिम्मेवारी दिइने उहाँले बताउनुभयो।
सभापति थापाले औपचारिकतामा सीमित हुने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने पनि घोषणा गर्नुभएको छ। सरसफाइ, विपन्नलाई सहयोग तथा समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रम आयोजना भएमा मात्रै सहभागी हुन उहाँले निर्देशन दिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्