काठमाडौं, कात्तिक १२ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया इनम सापकोटासँग आफ्नो कुनै सम्पर्क र चिनजान नरहेको दाबी गर्नुभएको छ।
विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले आफ्नो नाम जोडेर सार्वजनिक भएका समाचार तथा प्रसङ्गमा सत्यता नरहेको र सापकोटासँग प्रत्यक्ष वा परोक्ष रूपमा कुनै संलग्नता नरहेको जिकिर गर्नुभएको हो।
यसैबीच, थुनामा रहेका सापकोटाको मोबाइल विवरणबाट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँगको संवाद र कारोबारसम्बन्धी विवरण सार्वजनिक भएका छन्। सार्वजनिक ह्वाट्सएप संवादमा सापकोटाले एउटा मुद्दामा प्रभाव पार्न खोजेको देखिएको विवरण सञ्चारमाध्यममा आएका छन्। तर न्यायाधीश फुयालले भने कानुनी आधारअनुसार नै धरौटीमा छाडिएको प्रतिक्रिया दिनुभएको छ।
यही विवादमा प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको नाममा नेपाल तथा अमेरिकाका बैंकमा रकम जम्मा गर्न भनिएको विवरणसमेत सार्वजनिक भएको छ। ती विवरणबारे सम्बन्धित व्यक्तिहरूको संलग्नता पुष्टि भइसकेको छैन।
प्रहरीले सापकोटालाई पक्राउ गरी उनीसँग जोडिएका न्यायाधीश, सुरक्षा अधिकारी तथा राजनीतिक व्यक्तिहरूसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ।
सापकोटासँग उच्च पदस्थ व्यक्तिहरूको सम्बन्धबारे सार्वजनिक भएका विवरणको अनुसन्धान गर्न प्रहरीले छुट्टै समिति गठन गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीको नेतृत्वमा समिति गठन गरिएको हो।














प्रतिक्रिया दिनुहोस्