काठमाडौं, कात्तिक १२ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालभर देखिएको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको छ भने केही ठाउँमा वर्षा र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ।
विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता विभूति पोखरेलले आज रातिदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभएको छ। उहाँका अनुसार केही स्थानमा भारी वर्षा र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आगामी तीन दिन हावाहुरी, चट्याङ, हिमआँधी र भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी सतर्कता आवश्यक रहेको जनाइएको छ।
भारतमा कम्तीमा सात जनाको ज्यान लिनुका साथै धानबाली र विद्युत्का पोललगायत संरचनामा क्षति पुर्याएको चक्रवात नेपाल प्रवेश गर्दा कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन्। यद्यपि, प्रणाली कमजोर भए पनि केही स्थानमा हावाहुरी र भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा व्यापक हिमपात हुन सक्ने चेतावनी दिइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै पर्यटन विभागलगायतका निकायले हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्वतारोहण र पदयात्रा नगर्न आग्रह गरेका छन्। वर्षाका कारण बालीमा क्षति हुन सक्ने भन्दै विज्ञहरूले तीन दिन धान नकाट्न पनि सुझाव दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायले विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्।
हवाई सुरक्षालाई प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
सरकारले सर्वसाधारणलाई भ्रामक सूचना र अफवाहको पछि नलाग्न तथा आधिकारिक निकायबाट जारी मौसम पूर्वानुमान र सुरक्षा सूचनाका आधारमा सतर्कता अपनाउन अपिल गरेको छ। मौसमविद्का अनुसार चक्रवातको प्रभाव शनिबार बेलुकादेखि हट्ने सम्भावना छ।














प्रतिक्रिया दिनुहोस्