काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो। सभापति थापाले यसअघि असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।
शपथपछि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसमेत वितरण गरिएको छ। असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको थियो।
त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको थियो। विभिन्न समूहबाट ११ जना सहमहामन्त्री पनि निर्वाचित हुनुभएको छ।
अदालतमा मुद्दा विचाराधीन रहेकाले चार जना केन्द्रीय सदस्यको भने शपथ रोकिएको छ। शपथ लिन नपाउनेमा सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादव हुनुहुन्छ।
शपथग्रहण र पदबहालीपछि नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि पार्टी कार्यालय सानेपामा बस्ने भएको छ। बैठकले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापनलगायत विषयमा निर्णय गर्ने बताइएको छ।














प्रतिक्रिया दिनुहोस्