जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार २०:२५

कांग्रेसभन्दा पहिले देश भन्ने सोचका साथ अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा


काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ‘कांग्रेसभन्दा पहिले देश’ भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गर्नुभएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले आधुनिक, परिवर्तनशील र बलियो कांग्रेस निर्माण गर्दै समुन्नत नेपालको यात्रामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।

उहाँले संस्थागत ढंगले, स्वाभिमान कायम राख्दै सभापतिले तयार गर्ने कार्ययोजनाअनुसार तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम गर्न तथा समयमै केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनुपर्नेमा जोड दिनुभयो।

शर्माले आफूहरूमाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने बताउँदै गलत कुराको खण्डन स्वस्थ र विधिसम्मत प्रक्रियाबाट गर्नुपर्ने उल्लेख गर्नुभयो।

परिवर्तनका चुनौतीसँग जुध्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। सभापति गगन थापाको नेतृत्वमा संस्थागत, व्यवस्थित र प्रभावकारी टोलीका रूपमा अघि बढ्ने उहाँको भनाइ थियो।