जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार २०:२३

इनम सापकोटा प्रकरणमा निष्पक्ष छानबिन गर्न नेपाल बारको माग


काठमाडौं, कात्तिक १२ । नेपाल बार एसोसिएसनले न्यायाधीश हरिप्रसाद फुयाल र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा जोडिएको इनम सापकोटा प्रकरणमा निष्पक्ष छानबिन गर्न माग गरेको छ।

बारका महासचिव केदार कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै सापकोटासँग जोडिएको प्रकरणले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको उल्लेख गर्नुभएको छ। उहाँले विवादित मुद्दासँग सम्बन्धित भेटघाट र संवादबारे सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको हो।

बारले सार्वजनिक भएका विवरणलाई नै अन्तिम सत्य वा कुनै व्यक्तिको दोष प्रमाणित भएको रूपमा लिन नहुने स्पष्ट पारेको छ। तर न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणबारे गम्भीर प्रश्न उठेको अवस्थामा विषयलाई सञ्चारमाध्यममा आएका समाचारमा मात्र सीमित राख्नु उचित नहुने बारको भनाइ छ।

यस्तो संवेदनशील विषयमा सत्यतथ्यमा आधारित, निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानबिन गर्नुपर्ने माग गर्दै बारले उच्च पदस्थ पदाधिकारीलाई उच्च नैतिकता प्रदर्शन गर्न पनि आग्रह गरेको छ।

यसैबीच, प्रधानन्यायाधीश डा. शर्माले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आफ्नो कुनै सम्पर्क नरहेको बताउनुभएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै उहाँले सापकोटासँग आफ्नो नाम जोडेर समाचार प्रकाशित भएको विषयमा आश्चर्य र स्तब्धता व्यक्त गर्नुभएको छ।