जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार २०:०९

टिकटकर तुलसा अधिकारी थुनामुक्त हुन असफल, जिल्लाको आदेश उच्च अदालतबाट सदर


काठमाडौं, कात्तिक १२ । चर्चित टिकटकर तुलसा अधिकारी (तुलसा कलेक्सन) लाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले सदर गरेको छ। यससँगै अधिकारीको थुनामुक्त हुने प्रयास असफल भएको छ।

ललितपुर जिल्ला अदालतले आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेशविरुद्ध अधिकारीले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्।

उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बेरितको नदेखिएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो।

अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ। उनीमाथि आपराधिक लाभ लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत र स्थान परिवर्तन गरेको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ। अभियोगपत्रमा पीडितलाई क्षतिपूर्तिसहित कानुनबमोजिम सजायको माग गरिएको छ।

उच्च अदालतले अधिकारीलाई तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राख्नुपर्ने ठहर गरेको छ। आदेशमा जाहेरवाला कुमार चामोरियाको जाहेरी तथा थप निवेदन, विभिन्न व्यक्तिले गरिदिएका कागज र प्रहरी प्रतिवेदनलाई आधारका रूपमा उल्लेख गरिएको छ।

त्यस्तै, अधिकारीले अदालतमा दिएको बयानमा जाहेरवालासँग सम्बन्ध रहेको स्वीकार गरेको र आफ्नो कम्पनी ‘तुलसा कलेक्सन प्रालि’ को आय–व्यय विवरणमा वास्तविकभन्दा कम कारोबार देखाइएको विषयमा कमजोरी रहेको उल्लेख गरेको तथ्यलाई पनि अदालतले आधार मानेको छ।

उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा ललितपुर जिल्ला अदालतले २०८१ जेठ २१ गते गरेको थुनासम्बन्धी आदेश कानुनसम्मत देखिएको जनाएको छ। मुद्दाको अन्तिम फैसला नभएसम्म अधिकारी थुनामै रहेर मुद्दाको सामना गर्नुपर्नेछ।