दाङ, कात्तिक १२ । दाङको बबई गाउँपालिका–५ हापुरे बजारमा आगलागी हुँदा एक कस्मेटिक पसल पूर्ण रूपमा नष्ट भएको छ। दमकल समयमै पुग्न नसक्दा पसलमा रहेका सबै सामान जलेर नष्ट भएका छन्।
स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बुधबार साँझ करिब ८ बजे आगलागी भएको थियो। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगो लागेको हो।
आगलागी भएको दुई घण्टाभन्दा बढी समय बित्दासमेत दमकल घटनास्थलमा पुग्न नसकेको स्थानीयले बताएका छन्। दमकलको अभावमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरेका थिए। तर आगो ठूलो भएकाले उनीहरूको प्रयास सफल हुन सकेन।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीसहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।
पश्चिम दाङका चार पालिकामा सञ्चालनयोग्य दमकल छैनन्
तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चारवटा पालिकामा सञ्चालनयोग्य दमकल नहुँदा आगलागीका घटनामा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
यसअघि तुलसीपुर उपमहानगरपालिकासँग रहेको दमकल २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको थियो। त्यसपछि उपमहानगरपालिकाले हालसम्म नयाँ दमकल खरिद गर्न सकेको छैन।
दमकल अभावका कारण आगलागी हुँदा घोराहीबाट दमकल बोलाउनुपर्ने बाध्यता छ। घोराही हापुरेबाट करिब ४६ किलोमिटर र तुलसीपुरबाट करिब २० किलोमिटर टाढा पर्छ।
दमकल घटनास्थलमा पुग्न लाग्ने समयका कारण आगो नियन्त्रणमा कठिनाइ हुने र भौतिक क्षति बढ्ने जोखिम रहेको स्थानीयको भनाइ छ।














प्रतिक्रिया दिनुहोस्