काठमाडौं, कात्तिक १२ । बंगालको खाडीमा विकसित चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।
प्राधिकरणले बुधबार सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा कम्पनी तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको हो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रभावले नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। यसको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्ने तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि देखिन सक्ने अनुमान छ।
कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, तीव्र हावाहुरी र कम दृश्यताका कारण हवाई उडान तथा अवतरण, विमानस्थल सञ्चालन र धावनमार्गमा समस्या आउन सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले निर्देशन दिएको हो।
प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन र आवश्यकताअनुसार सम्बन्धित हवाई सेवा इकाइसँग समन्वय गर्न भनेको छ। मौसमका कारण उडान सञ्चालन निर्धारित सुरक्षा सीमाभन्दा बाहिर जाने अवस्था आएमा उडान मार्ग परिवर्तन, आकाशमै प्रतीक्षा गराउने व्यवस्था (होल्डिङ) तथा अन्य आवश्यक उपाय अपनाउन पनि निर्देशन दिइएको छ।
त्यस्तै, मौसम प्रतिकूल हुँदा विमानबीच आवश्यक दूरी कायम गर्न तथा हावाको गति र दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबताससम्बन्धी जानकारी उडान भर्ने र अवतरण गर्ने विमानलाई तत्काल उपलब्ध गराउन भनिएको छ।
भारी वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने र विमानको ब्रेकिङ क्षमतामा असर पर्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ र एयरसाइड विभागबीच समन्वय कायम गर्न, हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली सञ्चालनमा रहेको सुनिश्चित गर्न भनिएको छ।
वायुसेवा सञ्चालक र उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्याङ्कन गर्न, सम्भावित ढिलाइ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्न र पर्याप्त इन्धनको व्यवस्था गर्न प्राधिकरणले आग्रह गरेको छ।
प्रतिकूल मौसमका कारण हवाई सेवा तथा सुरक्षामा असर पर्न सक्ने भएकाले हवाई मार्ग सेवा, हवाई ट्राफिक व्यवस्थापन, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणालीलाई तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटना भएमा तत्काल जानकारी गराउनसमेत प्राधिकरणले भनेको छ।














प्रतिक्रिया दिनुहोस्