काठमाडौं, कात्तिक १२ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि त्यसको आंशिक प्रभावले नेपालमा आजदेखि कात्तिक १४ गतेसम्म वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस अवधिमा देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। केही स्थानमा भने भारी वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८ः१५ बजे भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढेको प्रणाली क्रमशः कमजोर हुँदै गएको छ। सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ रहेको यो प्रणाली कमजोर भएर ‘भीषण चक्रवाती आँधी’मा झरेको र आज गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कहाँकहाँ हुनेछ वर्षा र हिमपात?
महाशाखाका अनुसार कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले जलवाष्पयुक्त हावा ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले नेपालमा वर्षा र हिमपातको सम्भावना बढेको हो। यसबाट उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्ने उनले बताएकी छन्।
धानबाली जोगाउन र हिमाली क्षेत्रमा नजान आग्रह
सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै महाशाखाले कात्तिक १४ गतेसम्म धानबाली सुरक्षित राख्न र पदयात्रा नगर्न आग्रह गरेको छ।
उच्च हिमाली क्षेत्रमा जाने योजना स्थगित गर्न तथा त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ। मौसमविद् बिनु महर्जनका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आवश्यक छ।
वर्षा र हिमपातका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थानमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।
महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना जारी गर्ने जनाएको छ। मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि आधिकारिक सूचनामा ध्यान दिन पनि अनुरोध गरिएको छ।














प्रतिक्रिया दिनुहोस्