जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार ०८:५३

स्पेनमा रेल दुर्घटना : ६८ जनाको मृत्यु, दर्जनौँ घाइते


काठमाडौं, कात्तिक १२ । स्पेनको मध्य क्षेत्रमा दुई रेल आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।

बीबीसीका अनुसार बुधबार बिहान म्याड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो। ठक्करपछि रेलका कैयौँ डिब्बा छेउको ढिस्कोबाट तल खसेका थिए।

दुर्घटना बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने मोरा र ओर्गाज नगरपालिकाबीच भएको हो।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटिका कारण दुर्घटना भएको बताएका छन्। यो दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक तथा पछिल्लो १३ वर्षयताकै स्पेनको सबैभन्दा ठूलो रेल दुर्घटना बताइएको छ।

मन्त्री पुएन्तेका अनुसार निजी रेल सञ्चालक कम्पनी इरियोको स्वामित्वमा रहेको रेलमा १४७ जना यात्रु सवार थिए। कम्प्युटर प्रणालीमा समस्या आएपछि उक्त रेल लिकमै रोकिएको थियो।

इरियो कम्पनीले भने आफ्नो रेललाई स्पेनको सरकारी रेल कम्पनी रेनफेद्वारा सञ्चालित अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ। उक्त रेलमा ३९७ जना यात्रु सवार रहेको कम्पनीको भनाइ छ।

दुर्घटनाबाट उद्धार गरिएका यात्रुहरूले रेल ठोक्किँदा आफूहरू हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्यालका सिसा फुटाउनुपरेको बताएका छन्।

दुर्घटनापछि उद्धार तथा राहत कार्य सञ्चालन गरिएको छ। घटनाको कारण र क्षतिको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको छ।