काठमाडौं, कात्तिक १२ । काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले अब काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको हो।
नयाँ व्यवस्थाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन्। त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले प्रतिलिपि लिन सक्नेछन्।
आगलागी, बाढीपहिरो वा पानीले भिजेर नागरिकताको प्रमाणपत्र नष्ट भएको, झुत्रिएर काम नलाग्ने भएको, हराएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा नागरिकले यो सुविधामार्फत प्रतिलिपि लिन सक्नेछन्।
तर, नागरिकताको अभिलेख नभिडेको, अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति, ठेगाना वा अन्य विवरण सच्याउनुपर्ने तथा नागरिकताको प्रमाणपत्र शङ्कास्पद देखिएको अवस्थामा भने सुरुमा नागरिकता प्राप्त गरेको जिल्लाकै प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
नयाँ व्यवस्थाले काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन आफ्नै जिल्ला पुग्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्