काठमाडौं, कात्तिक १२। निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोसाकमा कमसल सामग्री प्रयोग भएको भनिएको उजुरीमाथि अध्ययन गर्न गठित संसदीय उपसमितिको दोस्रो बैठक आज बस्दै छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिको बैठक सिंहदरबारमा दिउँसो २ बजे बस्ने तय भएको छ। उपसमितिले निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता र सामग्रीको गुणस्तरसम्बन्धी उजुरीमाथि अध्ययन गरिरहेको छ।
निर्वाचन प्रहरीको पोसाक खरिदका लागि करिब एक अर्ब रुपैयाँ निकासा भएको विषयमा प्रश्न उठेपछि संसदीय अध्ययन अघि बढाइएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भर्ना भएका एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीका लागि खरिद गरिएका पोसाकको लागत र गुणस्तरबारे उजुरी परेका छन्।
उपसमितिलाई प्राप्त उजुरीहरूको अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। सोहीअनुसार उपसमितिले खरिद प्रक्रिया, पोसाकमा प्रयोग भएका सामग्रीको गुणस्तर तथा खर्चसम्बन्धी विषयमा अध्ययन गर्नेछ।
निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्ने विषयमा उपसमितिको अध्ययनपछि सार्वजनिक हुने प्रतिवेदनले खरिद प्रक्रियाबारे थप तथ्य उजागर गर्ने छ ।














प्रतिक्रिया दिनुहोस्