जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार २०:०४

स्वर्णिम वाग्लेको भारत भ्रमणको अभिव्यक्ति आत्मसमर्पणवादी : एमाले नेता पोखरेल


काठमाडौं, कात्तिक ११ । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिनुभएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाउनुभएको छ।

बुधबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाउनुभयो।

भारतसँगको सीमा समस्या, डुबान र असमान सन्धिका विषयमा आवाज उठाउँदा भारतविरोधी भनिन्छ भने आफू हजार पटक भारतविरोधी बन्न तयार रहेको उहाँले बताउनुभयो।

आफू भारतविरोधी नभएको स्पष्ट पार्दै नेता पोखरेलले पञ्चशील र असंलग्न परराष्ट्र नीतिका आधारमा भारत, चीन, अमेरिका तथा अन्य मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले सरकारको समग्र कार्यशैलीमाथि समेत प्रश्न उठाउनुभयो। राजदूत सिफारिसमा विवादास्पद व्यक्तिहरूलाई अघि सारिएको र नागरिकता विवादमा परेकी व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गरिएको भन्दै उहाँले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभयो।