जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १९:५१

विनाबर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी


काठमाडौं, कात्तिक ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताउनुभएको छ। उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन आह्वान गर्नुभएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ गराउँदै अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्नुपर्ने बताउनुभयो।

कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक तथा अनुशासित ढङ्गले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले देशमा आतङ्क फैलाउने तथा विनाबर्दीका प्रहरी प्रयोग गरेर बलजफ्ती र गिरफ्तारी गर्नेजस्ता अराजक गतिविधि भइरहेको आरोप लगाउनुभयो।

देशी–विदेशी तथा आन्तरिक–बाह्य सबै शक्ति एकजुट भएर एमालेलाई कमजोर बनाउन खोजे पनि पार्टी मजबुत हैसियत र लोकप्रिय मतका साथ उभिएको उहाँले बताउनुभयो।

अघिल्लो निर्वाचन पारदर्शी नभएको र प्रतिगमनको दोस्रो शृङ्खला भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले आगामी दिनमा एकता र अनुशासनका साथ अघि बढेर जित हासिल गर्नुपर्नेमा जोड दिनुभयो।

पार्टीभित्र देखिने विकृति, अराजकता र अनुशासनहीनता सह्य नहुने बताउँदै उहाँले त्यस्ता प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो। आफ्नै पार्टी, नेतृत्व वा नीतिविरुद्ध सार्वजनिक रूपमा बोल्नु संस्थागत नियमविपरीत हुने भन्दै उहाँले नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभयो।