मोरङ, कात्तिक ११ । पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको तथा क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ परेका छन्।
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा सञ्चालित शिविरमा संलग्न ब्राजिल, क्यानडा र अमेरिकाका नागरिकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
गृह मन्त्रालयका अनुसार ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित १० जनाले आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेका थिए। उनीहरूका कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको मन्त्रालयले जनाएको छ।
कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकले सेवा दिइरहेका थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गर्नुभएको थियो।
स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि क्रिश्चियन धार्मिक कक्षा सञ्चालन हुँदै आएको थियो। स्थानीय किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन निर्माण गर्नुभएको थियो। ती भवनमा पछिल्लो समय धार्मिक गतिविधि तथा अन्य कार्यक्रम सञ्चालन हुँदै आएका थिए।
उक्त विषयलाई लिएर स्थानीयस्तरमा विवाद उत्पन्न भएपछि त्यसलाई मत्थर पार्ने उद्देश्यले व्यवसायी श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गर्नुभएको थियो ।
पक्राउ परेका विदेशी नागरिक अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। अध्यागमन विभागका अनुसार उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको छ।
पर्यटक भिसाको दुरुपयोग गरी धार्मिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।














प्रतिक्रिया दिनुहोस्