जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार ०९:१०

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने


काठमाडौं, कात्तिक १२। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सवारीको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णयअनुसार सार्वजनिक गरिएको सूचनामा सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क कात्तिक १५ गतेदेखि लागु हुने भएको छ । 

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सार्वजनिक गरेको सूचनाअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई चार वर्गमा विभाजन गरी शुल्क तोकिएको छ।

निर्धारित दरअनुसार कार, जिप, भ्यान, पिकअप, माइक्रोबस, ट्याक्टर तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

त्यस्तै, मिनी बस, मिनी टिपर तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

बस तथा ट्रक (सिंगल रियर एक्सल) का लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौं बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ। मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्ने सूचनामा उल्लेख छ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णयअनुसार तथा नेपाल राजपत्रमा २०८२ चैत २९ गते प्रकाशित सूचनालाई आधार मानेर उक्त शुल्कसम्बन्धी व्यवस्था सार्वजनिक गरिएको हो।

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालक तथा यातायात व्यवसायीले आफ्नो सवारीसाधनको वर्गअनुसार निर्धारित शुल्क बुझाउनुपर्नेछ। सरुङ प्रयोग गर्दा काठमाडौं प्रवेश र निस्कने समय छोटिने छ ।