काठमाडौं, कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै विजयी सुरुवात गरेको कर्णाली आज पनि जितको लय कायम राख्ने लक्ष्यमा छ। उता, पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा बसिर अहमद, लोकेश बम र प्रतिश जिसीजस्ता घरेलु क्रिकेटका अनुभवी खेलाडी छन्। टोलीमा वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेलसहित विदेशी खेलाडीको साथ पनि छ।
चितवनविरुद्धको पहिलो खेलमा विराटनगरले राम्रो सुरुवात गरे पनि तल्लोक्रमको ब्याटिङ सम्हाल्न नसक्दा हार बेहोरेको थियो। यस खेलमा ओपनर इमरान शेख र लोकेश बमको लय तथा रसेलको आक्रामक प्रदर्शन विराटनगरका लागि महत्त्वपूर्ण हुनेछ।
कर्णालीका कप्तान सोमपाल कामीको नेतृत्वमा गुलशन झा, नन्दन यादव, पवन सर्राफ र युवा बलर युनिश ठकुरी छन्। पहिलो खेलमा युनिशले देखाएको प्रदर्शनले टोलीको बलिङ पक्षलाई थप बलियो बनाएको छ। कर्णालीलाई बंगलादेशका अकबर अली र अरिफुल इस्लाम तथा स्कटल्यान्डका मार्क वाटको साथ रहनेछ।
एनपीएलमा कर्णाली र विराटनगरबीच यसअघि दुई खेल भएका छन्। पहिलो संस्करणमा कर्णालीले विराटनगरलाई ७ रनले हराएको थियो भने गत संस्करणमा विराटनगरले ३ विकेटको जित निकालेको थियो।
आजको खेलमा कर्णाली जितको यात्रा कायम राख्न चाहन्छ भने विराटनगर पहिलो हारको निराशा भुल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।














प्रतिक्रिया दिनुहोस्