जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार २०:०५

कृषि फार्मका लागि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ


काठमाडौं, कात्तिक १२ । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान सहजै मिलाइदिने विश्वास दिलाएका थिए। सोही प्रलोभनमा पारेर विभिन्न बहानामा पीडितहरूबाट पटक–पटक गरी ५ करोड ८० लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।