विराटनगर, कात्तिक १३ । मोरङको रतुवामाई नगरपालिका–६ शनिश्चरेमा प्रहरीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको छ। बिहीबार राति भएको घटनामा प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान घरेलु पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको छ। घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
लागुऔषध ओसारपसार तथा बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा निगरानी र चेकजाँचमा खटिएको संयुक्त प्रहरी टोलीले राति करिब ९ः३० बजे दुईवटा मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजेको थियो। प्रहरीका अनुसार उनीहरूले भाग्ने प्रयास गर्नुका साथै प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाइएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरी आठ राउन्ड गोली चलाएको थियो।
गोली लागेर भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। दुवैको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई सुरुमा झुर्कियास्थित नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो।
पक्राउ पर्ने तेस्रो व्यक्ति रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर हुन्। तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा रहेको टोली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले संयुक्त रूपमा निगरानी तथा चेकजाँच गरिरहेको थियो।
प्रहरीले पक्राउ परेकाहरू लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ। बरामद लागुऔषध र हतियारको स्रोत तथा भारतबाट नेपालतर्फ ओसारपसार भएको वा अन्य माध्यमबाट कारोबार सञ्चालन गरिएको विषयमा अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताउनुभयो।
पक्राउ परेकाहरूको सम्भावित कारोबार सञ्जाल र उनीहरूसँग जोडिएका अन्य व्यक्तिबारे पनि अनुसन्धान भइरहेको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा भइरहेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय सिजुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ।














प्रतिक्रिया दिनुहोस्