काठमाडौं, कात्तिक १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र अमेरिकासँगको सम्बन्धमा बढ्दो तनावका बीच युक्रेनले रुसका तेल प्रशोधन केन्द्रलाई लक्षित गर्दै गर्दै आएको ड्रोन आक्रमण तत्कालका लागि रोकेको छ।
युक्रेनी सैन्य कारबाहीबारे जानकार अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले गत साताको सुरुदेखि रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोकिएको जनाएको छ। यो अनौपचारिक रोक नोभेम्बरमा हुने अमेरिकी संसदीय निर्वाचनसम्म कायम रहन सक्ने अधिकारीहरूको भनाइ छ।
युक्रेनले भने आक्रमण रोक्ने निर्णय औपचारिक रूपमा सार्वजनिक गरेको छैन। अमेरिकी दबाब र रुससँग जारी कूटनीतिक प्रयासका कारण युक्रेनले आफ्नो सैन्य रणनीतिमा केही परिवर्तन गरेको देखिएको छ।
युक्रेनी सैन्य अधिकारीहरूका अनुसार अक्टोबरको मध्यतिर लामो दूरीका आक्रमणमा संलग्न सैन्य इकाइलाई तेल प्रशोधन केन्द्रविरुद्धको अभियान रोक्न निर्देशन दिइएको थियो। त्यसअघि नै सुरु भइसकेका कारबाही भने पूरा गर्न भनिएको थियो।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आवश्यक ठानेमा पुनः आक्रमण गर्न सेनालाई स्वतन्त्रता रहेको बताएका छन्। मंगलबार किभमा पत्रकारहरूसँग कुरा गर्दै उनले पछिल्ला दिनमा सेनाले केही सावधानी अपनाएको तर तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न औपचारिक आदेश नदिइएको बताएका थिए।
ट्रम्प प्रशासनले पछिल्ला सातामा रुसी तेल केन्द्रमा आक्रमण रोक्न युक्रेनमाथि दबाब बढाएको थियो। अमेरिकामा इन्धनको मूल्य बढ्नुमा युक्रेनी आक्रमण जिम्मेवार रहेको ट्रम्पको आरोप थियो। ऊर्जा क्षेत्रका विज्ञहरूले भने विश्व बजारमा इन्धनको मूल्यवृद्धिको मुख्य कारण अमेरिका–इरान युद्धलाई मानेका छन्।
अमेरिकी विशेष दूत जारेड कुशनरले अक्टोबर २० मा ओस्लोमा जेलेन्स्कीसँग भएको भेटमा रुसी तेल केन्द्रमा ३० दिन आक्रमण रोक्न आग्रह गरेका थिए। रुससँग वार्ताका लागि अमेरिकाले गरिरहेको प्रयासप्रति कृतज्ञता देखाउने अवसरका रूपमा आक्रमण रोक्नुपर्ने उनको भनाइ थियो।
युक्रेनले भने आक्रमण रोक्नुअघि बदलामा सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्दै आएको थियो। जेलेन्स्कीले रुस र युक्रेन दुवैले एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए। साथै, आफ्ना ऊर्जा केन्द्रको सुरक्षाका लागि प्याट्रियट क्षेप्यास्त्र वा रुसभित्र ड्रोन सञ्चालन गर्न स्टारलिंकको पहुँच उपलब्ध गराउनुपर्ने विकल्प पनि अघि सारेका थिए। तर ती प्रस्तावमा ठोस प्रगति हुन सकेन।
अक्टोबर २० मा रुसको ताम्बोभ क्षेत्रमा रहेको ड्रुजबा तेल पाइपलाइनको पम्पिङ स्टेसनमा युक्रेनले आक्रमण गरेको थियो। त्यसयता रुसी तेल पूर्वाधारमा अर्को आक्रमण भएको छैन।
युक्रेनले रुसी तेल प्रशोधन केन्द्रलाई निशाना बनाउनुको उद्देश्य रुसको युद्ध आम्दानी घटाउनु हो। तेल निर्यातबाट प्राप्त रकमले राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले युक्रेनविरुद्धको युद्ध सञ्चालन गरिरहेको किभको बुझाइ छ।
यसैबीच, अमेरिकी कम्पनी स्पेसएक्सको स्टारलिंक सेवामा लगाइएको प्रतिबन्धात्मक व्यवस्थाले युक्रेनी सेनाको ड्रोन कारबाही र रुसी ड्रोन रोक्ने प्रतिरक्षा प्रणालीसमेत प्रभावित भएको थियो। अक्टोबर २४ मा ट्रम्पले कम्पनीका प्रमुख इलन मस्कलाई सेवा पुनः सञ्चालन गर्न आग्रह गरेपछि पूर्ण सेवा बहाल भएको थियो।
अमेरिकी अधिकारीहरूले स्टारलिंक सेवा पुनः सञ्चालन र रुसी तेल केन्द्रमा आक्रमण रोक्ने विषयबीच कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। तर युक्रेनी अधिकारीहरूले अमेरिकी दबाबका कारण यी दुई विषय एकअर्कासँग जोडिएको बताएका छन्।
अमेरिकामाथिको सैन्य निर्भरता र ट्रम्प प्रशासनको बदलिँदो नीतिले युक्रेनमा अमेरिकी समर्थनप्रतिको विश्वास कमजोर बनाएको छ। अमेरिकी गुप्तचर सूचना, स्टारलिंक र प्याट्रियट क्षेप्यास्त्रमा निर्भर युक्रेनका लागि अमेरिकासँगको सम्बन्ध बिग्रनु गम्भीर सुरक्षा चुनौती बनेको छ।
अमेरिकी सरकारले रुसप्रति बढी अनुकूल व्यवहार गरेको भन्दै युक्रेनभित्र आलोचनासमेत भइरहेको छ। पूर्वी मोर्चामा खटिएको एक युक्रेनी सैन्य बटालियनले पछिल्ला दुई सातामा आफ्ना शिविरबाट अमेरिकी झण्डा र अन्य अमेरिकी चिह्न हटाएको एक कमान्डरले बताएका छन्।














प्रतिक्रिया दिनुहोस्