काठमाडौं, कात्तिक १३ । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ। सडक क्षतिग्रस्त भएपछि दुर्गम लाया क्षेत्र भुटानका अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ।
उत्तर भुटानको गासा जिल्लास्थित शिंताफू हिमतालबाट आएको बाढी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो। बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सबै प्रकारका यातायात बन्द गरिएको छ।
भुटानी अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानीका उपाय अपनाइएको छ भने आसपासका क्षेत्रलाई पनि सतर्क गराइएको छ। घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।
रातिको अँध्यारोका कारण तालबाट बाहिरिएको पानीको परिमाण र बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन हुन सकेको छैन। प्रारम्भिक विवरणले भने बाढीको प्रभाव ठूलो हुन सक्ने देखाएका छन्।
घटनापछि भारतको पश्चिम बंगालमा पनि सतर्कता बढाइएको छ। पश्चिम बंगालका वनमन्त्री मनोज कुमार ओरांवले संकोश नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित बाढीको जोखिमप्रति सचेत रहन आग्रह गरेका छन्।
उनले प्रशासन तथा सम्बन्धित अधिकारीलाई जोखिमयुक्त क्षेत्रका बासिन्दासँग सम्पर्कमा रहन र आवश्यक परे सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन निर्देशन दिएका समाचारमा उल्लेख छ।














प्रतिक्रिया दिनुहोस्