जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार ०६:५६

‘अर्नब’ चक्रवातको प्रभाव : देशका धेरै स्थानमा वर्षा, हिमाली क्षेत्रमा हिमपात


काठमाडौं, कात्तिक १३ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ। पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार बिहीबार रातिदेखि कोशीदेखि बागमती प्रदेशसम्मका अधिकांश स्थानमा निरन्तर हल्का वर्षा भइरहेको छ। मध्यरातपछि लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भागमा पनि वर्षा सुरु भएको छ।

शुक्रबार दिनभर नै मौसम यस्तै रहने र वर्षा जारी रहने सम्भावना रहेको उहाँले बताउनुभयो। अपराह्न वा साँझदेखि नेपालको पूर्वी आधा भागमा भारी वर्षाको जोखिम रहेको मौसमविद् पोखरेलले जानकारी दिनुभयो। विशेषगरी रातिको समयमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा २० मिलिमिटर वर्षा मापन गरिएको छ। काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा पनि रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ।