जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार ०८:५९

वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला


काठमाडौं, कात्तिक १३ । सुनसरीको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको कार्यकक्षमा तालाबन्दी गराउनुभएको छ। कार्यपालिकाको निर्णयअनुसार गिरीको कार्यकक्षमा ताला लगाइएको मेयर कार्कीले बताउनुभएको छ।

दसैँ बिदापछि कार्यालयमा हाजिर हुन ढिलाइ गरेको भन्दै मेयर कार्कीले गिरीले प्रयोग गर्दै आउनुभएको सवारीसाधनको सुविधा पनि खोस्नुभएको बताइएको छ।

गिरीले गत चैतदेखि वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। जिम्मेवारी सम्हालेदेखि नै नगरपालिकाको खर्च व्यवस्थापनका विषयमा मेयर कार्कीले गर्ने खर्चमा रोक लगाउन थालेपछि उहाँहरूबिच सम्बन्ध बिग्रिएको बताइएको छ।

नगर कार्यपालिकाको २०८३ कात्तिक १० गते बसेको ७२औँ बैठकले गिरीलाई अब उप्रान्त कार्यालयमा हाजिर हुन नदिने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको मेयर कार्कीको दाबी छ।

मेयर कार्कीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएकी गिरीको कार्यसम्पादन, प्रशासनिक कामकाज तथा समन्वयमा कमजोरी देखिएको आरोपसमेत लगाउनुभएको छ।

यता, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने कार्यालयमा हाजिर हुन आउँदा अवरोध गरिएको बताउनुभएको छ। काज फिर्ता गर्ने निर्णय भएको भन्दै आफूलाई हाजिर हुन रोक्न खोजिएको उहाँको भनाइ छ।