जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार ११:५१

जापानी कम्पनीको आर्थिक सहयोगमा अर्जुनधारामा पुस्तकालय भवन र वसुन्धरा मान मन्दिर उद्घाटन


काठमाडौं, कात्तिक १३ । जापानको निचिनोकेन कान्तो कम्पनीको आर्थिक सहयोगमा झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गरिएका पुस्तकालय भवन तथा वसुन्धरा मान मन्दिरको उद्घाटन गरिएको छ।

पूर्वउपसभामुख तथा वर्तमान संघीय सांसद इन्दिरा राना, जापानका लागि नेपालका पूर्वराजदूत डा. दुर्गाबहादुर सुवेदी, निचिनोकेन कान्तो कम्पनीका अध्यक्ष (स्याच्यो) कोजिमा ताकाशी तथा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले संयुक्त रूपमा दुबसु पुस्तकालय भवनको उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहमा निचिनोकेन कम्पनीका महाप्रबन्धक मनीष श्रेष्ठ, कम्पनीकी सचिव इजुमी माइको, हार्डफोर्ड एजुकेशन प्रा.लि.का अध्यक्ष महेश श्रेष्ठलगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

निचिनोकेन कान्तो कम्पनीका अध्यक्ष कोजिमा इजुमीको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनमा स्वास्थ्य शिविर सञ्चालन, पुस्तकालय तथा दुबसु प्रतिष्ठानसमेत रहने व्यवस्था गरिएको जनाइएको छ।

स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको यस संरचनाले समुदायको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

जापानी कम्पनीको सहयोगमा सम्पन्न यस परियोजनालाई नेपाल–जापानबीचको आपसी सहयोग, सद्भाव र सामाजिक सम्बन्धको उदाहरणका रूपमा समेत हेरिएको छ।