काठमाडौं, कात्तिक १४ । दुग्ध विकास संस्थानमा १२ करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संस्थानलाई गैरकानुनी रूपमा आर्थिक हानिनोक्सानी पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा संस्थानका तत्कालीन महाप्रबन्धक ४५ वर्षीय संजीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल दुग्ध वितरण आयोजना बालाजुमा कार्यरत जुनियर टेक्निकल असिस्टेन्ट ४६ वर्षीय विजयकुमार यादव, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल केन्द्रीय कार्यालय लैनचौरमा कार्यरत जुनियर टेक्निकल असिस्टेन्ट ५५ वर्षीय मनहरी शर्मा र तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजनाको संकलन केन्द्रमा कार्यरत जुनियर टेक्निकल असिस्टेन्ट ४९ वर्षीय रामकेवल राय छन्।
त्यस्तै, बागमती धुलो दूध कारखाना हेटौँडामा भरपाई पदमा कार्यरत २८ वर्षीय जितेन्द्रकुमार यादव, नवलपुर–गरुडा चिस्यान केन्द्रका इन्चार्ज तथा डेरी ब्वाइ पदमा कार्यरत नवीन राय यादव, माडी चिस्यान केन्द्रमा दैनिक परिश्रमिकमा कार्यरत शिवनन्दन राय र सोही केन्द्रका इन्चार्ज तथा जुनियर टेक्निकल असिस्टेन्ट विखबहादुर भण्डारी पनि पक्राउ परेका छन्।
सीआईबीका अनुसार उनीहरूले पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी संगठित सञ्जालमार्फत संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी आर्थिक हानिनोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मुलुकी अपराध संहिता, २०७४ को विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्