काठमाडौं, कात्तिक १४ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ।
लगातारको वर्षाले खेल मैदान खेल सञ्चालन गर्न योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिनुभएको छ।
उहाँका अनुसार बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूर्ण रूपमा भिजेको छ। मैदानको अवस्था खेल सञ्चालन गर्न अनुकूल नभएपछि खेल स्थगित गर्ने निर्णय गरिएको हो। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन्।
यसैबीच, आजै हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। उक्त खेल अपराह्न ५ बजे सुरु हुने पूर्वनिर्धारित कार्यक्रम छ। तर वर्षा नरोकिए उक्त खेलसमेत प्रभावित हुने सम्भावना छ।
गत कात्तिक ९ गतेदेखि सुरु भएको तेस्रो संस्करणको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।














प्रतिक्रिया दिनुहोस्