काठमाडौं, कात्तिक १४ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले हिजो सञ्चार गृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति गम्भीर प्रश्न उठाउँदै सरकारसँग घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्नुभएको छ।
पक्राउ परेका पत्रकारहरू छुटिसकेको अवस्थामा घटनालाई त्यत्तिमै टुङ्ग्याउन नहुने उल्लेख गर्दै उहाँले पत्रकार पक्राउ गर्ने निर्देशन कसले दिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकार र सञ्चार क्षेत्रमाथि हुने गैरकानुनी गतिविधिलाई सामान्य घटनाका रूपमा लिन नहुने बताउनुभएको हो।
केही महिनाअघि सञ्चार गृह अगाडि मोटर राखेर आतङ्क सिर्जना गर्नेहरू को थिए भन्ने प्रश्न उठाउँदै शर्माले सरकारले दोषी पहिचान गरेर सार्वजनिक गर्न नचाहेको आरोप लगाउनुभएको छ। अहिले भने सञ्चार गृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्दा प्रधानमन्त्री कार्यालयले आफू संलग्न नभएको स्पष्टीकरण दिएको भन्दै उहाँले सरकारको भूमिकामाथि प्रश्न उठाउनुभएको छ। ‘प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अङ्गमाथि यस्ता हरकत हुँदा सरकार सरकारका रूपमा देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ उहाँको भनाइ छ।
सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको धारणा समयमै सार्वजनिक गरेको विषयलाई सकारात्मक रूपमा लिँदै शर्माले त्यसपछि पनि सरकारको जिम्मेवारी समाप्त नहुने बताउनुभएको छ। गैरकानुनी कार्य निरन्तरता पाउँदै जाँदा त्यो घटना मात्र नभई प्रवृत्ति बन्ने खतरा औँल्याउँदै उहाँले सत्तारूढ दलको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रताको प्रतिबद्धता सरकारले व्यवहारमा पनि कार्यान्वयन गर्छ कि गर्दैन भन्ने प्रश्न उठाउनुभएको छ।
उहाँले गिरफ्तारी गैरकानुनी भएको बताएर मात्र सरकार बनाउने पार्टीको दायित्व पूरा नहुने उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न पार्टीको धारणा र आवाजलाई सरकारले सुन्ने तथा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषय पनि महत्त्वपूर्ण रहेको बताउनुभएको छ।
शर्माले आफूहरू स्वतन्त्र तर मर्यादित प्रेसको पक्षमा रहेको स्पष्ट पार्दै गलत तथा भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित कानुनी विधि र प्रक्रिया रहेको उल्लेख गर्नुभएको छ। ‘संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्ड्याउने गैरकानुनी धन्दा बन्द गरौँ,’ उहाँले भन्नुभएको छ।
पत्रकारमाथि हुने गैरकानुनी धरपकड रोक्न तथा प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै शर्माले पत्रकार पक्राउ गर्नुको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्