जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार १२:३५

पत्रकार पक्राउको विरोध चर्किएपछि आईजीपी कार्कीको प्रतिबद्धता : ‘सञ्चारकर्ममा बाधा पुग्न दिँदैनौँ’


काठमाडौं, कात्तिक १४ । समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाको सर्वत्र विरोध भएपछि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुग्ने गरी सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आइजिपी कार्कीले शनिबार आफ्नो व्यक्तिगत फेसबुक आइडीमार्फत स्ट्याटस लेख्दै सञ्चारकर्मीको निष्पक्ष, तथ्यपूर्ण तथा साहसिक रिपोर्टिङको नेपाल प्रहरीले सदैव अपेक्षा गर्ने उल्लेख गर्नुभएको हो ।

उहाँले सञ्चारकर्मीलाई सम्बोधन गर्दै विपद्को जोखिम न्यूनीकरण तथा नागरिकलाई सही सूचना सम्प्रेषण गर्ने कार्यमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । ‘सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

वर्षा, सम्भावित हावाहुरी तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस कार्यमा सञ्चारकर्मीको साथ र सहयोग अपेक्षा गर्नुभएको छ । विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी आफ्नो मूल दायित्व पूरा गर्न सधैँ क्रियाशील रहने पनि उहाँले उल्लेख गर्नुभएको छ ।  ‘यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ’, उहाँले लेख्नु भएकाे छ । 

समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ गर्ने तथा सञ्चारकर्मीलाई आतंकित पार्ने प्रहरी गतिविधिको व्यापक विरोध भइरहेका बेला प्रहरी प्रमुख कार्कीको यो अभिव्यक्ति सार्वजनिक भएको हो । घटनालाई लिएर नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संघसंस्थाले विरोध जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरिरहेका छन् ।