जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार १४:१५

रेडक्रस पदाधिकारीको मनपरीतन्त्रबिरुद्ध आन्दोलनमा उत्रिए कर्मचारी : ७ दिनभित्र माग पूरा नगरे काम ठप्प पार्ने घोषणा


काठमाडौं, कात्तिक १७ । नेपाल रेडक्रस सोसाइटीभित्र कर्मचारीहरूका मुद्दालाई लिएर तनाव उत्पन्न भएको छ ।

नेपाल रेडक्रस कर्मचारी संघले संस्थाका अध्यक्ष, महामन्त्री तथा तदर्थ समितिलाई समयसीमा तोकेर ४ सूत्रीय मागसहितको ध्यानाकर्षण पत्र बुझाउँदै माग पूरा नभए कडा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

संघले आफ्ना न्यायोचित मागहरू आगामी ७ दिनभित्र सम्बोधन नगरिए सम्पूर्ण कामकारबाही ठप्प पारी चरणबद्ध आन्दोलन गर्ने र केन्द्रीय कार्यालयलगायतका निकायमा तालावन्दी गर्ने घोषणा पनि गरेको छ ।

कर्मचारी संघका अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाद्वारा हस्ताक्षरित पत्रमा संस्थामा लामो समयदेखि कार्यरत कर्मचारीहरूको अबमूल्यन गरिएको, उमेर हद नाघेकाहरूलाई गैरकानुनी रूपमा नियुक्ति दिइएको र विभेदकारी नीति अपनाइएको भन्दै सच्याउन चेतावनी दिइएको छ ।

सात दिनको अल्टिमेटम र तालाबन्दीको चेतावनी

कर्मचारी संघका अनुसार प्रस्तुत मागहरू कर्मचारीहरूको हकहितका साथै संस्थाभित्र पारदर्शी र न्यायोचित वातावरण निर्माणका लागि अनिवार्य रहेका छन् ।

संघले बुझाएको ७ दिने अल्टिमेटमभित्र व्यवस्थापन पक्षले वार्ता र छलफलमार्फत मागहरू सम्बोधन नगरे सशक्त चरणबद्ध आन्दोलनका साथै कार्यालयहरूमा तालाबन्दी गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवार स्वयं रेडक्रस व्यवस्थापन हुने चेतावनी पनि दिइएको छ ।

यस्ता छन प्रमुख ४ माग

१. चालक तथा कार्यालय सहयोगीको स्थायी समायोजन

लामो समयदेखि निरन्तर सेवा दिँदै आएका चालक तथा कार्यालय सहयोगी स्तरका कर्मचारीहरूको सेवा अवधि र अनुभवलाई कदर गर्दै प्रक्रिया पुर्याएर तत्काल स्थायी सेवामा समायोजन र व्यवस्थापन गर्नुपर्ने ।

२. सेवा–सुविधामा व्याप्त विभेदको अन्त्य

समान प्रकृतिको काम र जिम्मेवारी सम्हालेका कर्मचारीहरूबीच अस्वाभाविक र अनावश्यक विभेद भइरहेकोले समान पद र जिम्मेवारी अनुसारको सेवा–सुविधा तत्काल कायम गर्नुपर्ने ।
३. सञ्चित बिदाको रकमको दीर्घकालीन सुरक्षा

कर्मचारीहरूले नियमअनुसार सञ्चित गरेको बिदाको रकम सुरक्षित गर्न नागरिक लगानी कोषमा छुट्टै खाता खोलेर नियमित रकम जम्मा गर्ने व्यवस्था अविलम्ब लागू गर्नुपर्ने ।
४. गैरकानुनी नियुक्ति र नवीकरण तत्काल बन्द गर्नुपर्ने

करार सेवाका लागि प्रकाशित विज्ञापनमा अधिकतम उमेर हद ३५ वर्ष तोकिएको भए पनि संस्थाकै नियम–नीतिको उल्लंघन गर्दै ३५ वर्ष नाघेका व्यक्तिहरूलाई नयाँ नियुक्ति दिने र पुरानाको करार नवीकरण गर्ने कार्य भइरहेकोले सो कार्य तत्काल पूर्ण रूपमा बन्द गर्नुपर्ने ।