रामेछाप, कात्तिक १७। हेफर प्रोजेक्ट नेपालले रामेछापका र सिन्धुलीका चार स्थानीय तहमा आपूर्ति शृङ्खला सबलीकरण तथा बजार प्रणाली विकास परियोजना सञ्चालन गर्ने भएको छ ।
किसानहरूको उत्पादनलाई बजारसम्म पुर्याई उनीहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले स्थानीय तहसँग सहकार्य गरी सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्थलीमा आयोजित कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका दिपेश पोखरेलले जानकारी दिनुभयो । यस अघि परियोजनाले काम गरेका किसान र समूह तथा उनीहरूले गरेको उत्पादनलाई प्राथमिकतामा राखे र कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । परियोजना ५ महिना अवधिको रहेको उहाँले जानकारी दिनुभयो ।
रामेछापको मन्थली नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा सो कार्यक्रम रामेछापका मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिका तथा सिन्धुलीको घ्याङलेक र मरिण गाउँपालिकामा सञ्चालन हुन लागेको पहाडी समाज कल्याण केन्द्र दाेरम्बाका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिनुभयो । कार्यक्रम पहाडी समाज कल्याण केन्द्रको सहजिकरणमा सञ्चालन हुन लागेको हो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले हेफरसँग मिलेर यस अघि पनि मन्थली नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रका काम गरेको बताउँदै अहिलेको कार्यक्रम त्यसैको निरन्तरता भएको बताउनुभयो । उहाँले परियोजनालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा थप योजना बनाएर अघि बढिने स्पष्ट पार्नुभयो ।
हेफर इन्टरनेसल नेपालको हेफर प्रोजेक्ट नेपाल (Heifer Project Nepal – HPN) सन् १९९६ मा नेपालमा स्थापना भएको एक गैर-नाफामूलक मानवीय संस्था हो। यसले नेपालमा गरिबी र भोकमरी अन्त्य गर्ने तथा वातावरणीय संरक्षण गर्ने मुख्य उद्देश्यका साथ ग्रामीण क्षेत्रमा पशुपालन, दिगो कृषि, र उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको छ।
परियोजना दिगो जीविकोपार्जन कार्यक्रम अन्तर्गत ग्रामीण विपन्न परिवारहरूलाई बाख्रा, गाईभैंसी जस्ता पशुधन, प्राविधिक शिक्षा, तथा आवश्यक स्रोत-साधन प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्दै आएको छ । परियोजनाले ग्रामीण महिलाहरूको नेतृत्व क्षमता र आर्थिक हैसियत माथि उठाउने खालका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
त्यस्तै मूल्य शृङ्खला विकास अन्तर्गत साना किसानहरूले उत्पादन गरेका दुग्धजन्य पदार्थ, मासु, र तरकारीलाई बजारसँग जोड्न यसले कृषि उद्यमी संस्थाहरू र ग्रामीण व्यवसाय केन्द्रहरू निर्माण गरेर काम गर्दै आएको छ ।
नेपाली युवाहरूमा डिजिटल प्रविधिको प्रयोग बढाउन र कृषि क्षेत्रमा नवप्रवर्तन ल्याउन समेत यो परियोजनाले काम गर्दै आएको छ । त्यस्तै विपन्न परिवारका बालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्न छात्रवृत्ति लगायतका कार्यक्रम समेत परियोजना मार्फत सञ्चालन हुँदै आएको छ ।














प्रतिक्रिया दिनुहोस्