काठमाडौं, कात्तिक १७ । समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ। आयोगको टोलीले आज बिहान नेपाल प्रेसको कार्यालय पुगेर घटनाको विस्तृत जानकारी लिएको छ।
मानव अधिकार अधिकृत खिमानन्द बस्यालसहितको टोलीले स्थलगत अनुगमन गर्दै घटनाक्रमबारे जानकारी लिएको हो। सो क्रममा पक्राउ परेका पत्रकार विश्वमणि सुवेदीसहित नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल, प्रधानसम्पादक मात्रिका पौडेल र सम्पादक चिरञ्जीवी पौडेलले शुक्रबार साँझदेखि भएका घटनाक्रमबारे आयोगको टोलीलाई जानकारी गराउनुभएको थियो।
प्रधानसम्पादक पौडेलले आफूहरूलाई साइबर ब्युरोमा करिब दुई घण्टासम्म केरकार गरिएको बताउनुभयो। समाचार कसले र किन लेखेको हो तथा त्यसको स्रोत को हो भन्ने विषयमा प्रश्न गरेर सोधपुछ गरिएको उहाँले जानकारी दिनुभयो।
आफ्नो मोबाइल फोनसमेत एक घण्टासम्म नियन्त्रणमा लिइएको पौडेलले बताउनुभयो।
उहाँले नेपाली प्रेस अहिले असुरक्षित र त्रसित अवस्थामा रहेको उल्लेख गर्दै व्यक्तिगत गोपनीयता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको बताउनुभयो। प्रेसको मुख थुन्न सके जे गरे पनि हुन्छ भन्ने खतरनाक प्रवृत्ति देखिएको उहाँको भनाइ थियो।
पत्रकारलाई कसको निर्देशनमा र किन कार्यालयबाटै पक्राउ गरिएको हो भन्ने विषयमा गहन अनुसन्धान हुनुपर्ने उहाँले माग गर्नुभयो। साथै, आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
मानव अधिकार रक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको आयोगले गोपनीयताको हक र प्रेस स्वतन्त्रताको पक्षमा राज्यलाई आवश्यक दबाब दिनुपर्ने पौडेलले आग्रह गर्नुभयो।
छलफलपछि मानव अधिकार अधिकृत बस्यालले पत्रकार पक्राउको घटनालाई आयोगले नजिकबाट र गम्भीरतापूर्वक नियालिरहेको बताउनुभयो। उहाँले यस विषयमा आयोगले छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो।
घटनाको थप अनुसन्धानका क्रममा आवश्यक परे पत्रकार पक्राउको आदेश दिने प्रहरी तथा सरकारी अधिकारीहरूसँग समेत बयान लिइने बस्यालले स्पष्ट पार्नुभयो।
गत शुक्रबार साँझ नेपाल प्रेसको कार्यालयबाटै प्रहरीले पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको थियो।














प्रतिक्रिया दिनुहोस्