जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार ०८:४३

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन तीव्र, एक सातामा ६४० जना पक्राउ


काठमाडौं, कात्तिक १७ । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य गरी ६४० जना पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना र चालु मुद्दाका फरार २० जना प्रतिवादी छन् । उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

अभियानअन्तर्गत सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास, बसपार्क, व्यस्त बजार तथा बढी भीडभाड हुने क्षेत्रमा निगरानी र जाँचलाई तीव्र पारिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्न विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार तथा सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुन सक्ने भएकाले त्यस्ता क्षेत्रमा विशेष निगरानी बढाइएको हो ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागेका आरोप तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न विशेष निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले स्पष्ट पारेको छ ।