जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार ०८:४७

युक्रेनमा रुसी बमबारी : मानवीय सहायता केन्द्रमा २६ जनाको मृत्यु


काठमाडौं, कात्तिक १७ । युक्रेनको दक्षिणी जापोरिझा क्षेत्रस्थित एक मानवीय सहायता केन्द्रमा रुसी बमबारी हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार कोमिसुभाखा गाउँमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम खसालिएका थिए । क्षेत्रीय प्रमुख माइखाइलो सेमिकिनले आक्रमणबाट ठूलो जनधनको क्षति भएको जानकारी दिनुभएको छ । सुरुमा २७ जना बेपत्ता भएको बताइएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्थानीय विद्यालयलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिएको थियो । पहिलो आक्रमणपछि मानिसहरूले आश्रय लिएको स्थानमा दोस्रो आक्रमण गरिएको उहाँले बताउनुभएको छ ।

सोमबार भएको आक्रमणपछि घटनास्थलमा बनेको ठूलो खाल्डो र भग्नावशेषमा उद्धार टोलीले खोजी गरिरहेको भिडियो राष्ट्रपति जेलेन्स्कीले सार्वजनिक गर्नुभएको छ ।

जेलेन्स्कीले सुरुमा मृतकको सङ्ख्या १८ रहेको बताउनुभएको थियो । सोमबार अबेर सार्वजनिक भिडियो सम्बोधनमार्फत उहाँले मृतकको सङ्ख्या २६ पुगेको जानकारी दिनुभएको हो । रुसी सेनाले भने घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार कोमिसुभाखामा रहेका स्थानीय बासिन्दाले प्रत्येक सोमबार मानवीय सहायता प्राप्त गर्दै आएका थिए । रुसी पक्ष यसबारे अनभिज्ञ हुन नसक्ने उहाँको भनाइ छ । उहाँले उक्त आक्रमणले रुस तनाव कम गर्न इच्छुक नरहेको देखाएको आरोप लगाउनुभएको छ ।

आक्रमणमा ज्यान गुमाएकाहरूको शोकमा मंगलबार जापोरिझा क्षेत्रमा एक दिन शोक घोषणा गरिएको छ ।

— बीबीसी