काठमाडौं, कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार बेहोरेको छ । समान तीन खेल खेलेको जनकपुरले भने दुई जित र एक हारको नतिजा निकालेको छ ।
आजको दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।
लुम्बिनीले यसअघिका दुई खेलमध्ये एकमा जित निकालेको छ भने वर्षाका कारण चितवनसँगको खेल रद्द हुँदा दुवै टोलीले एक–एक अंक बाँडेका थिए । लुम्बिनीले उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।
पोखराले भने यसअघिका दुवै खेलमा हार बेहोरेको छ ।
एनपीएलअन्तर्गत सोमबार भएका दुई खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज विजयी भएका थिए ।
आठ टोली सहभागी प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।














प्रतिक्रिया दिनुहोस्