काठमाडौं, कात्तिक १७ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । कुल ८१ किलोमिटर लामो सडकको पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ ।
आयोजना कार्यालयका अनुसार पश्चिम खण्डअन्तर्गत पोखरा–जामुने सडकको निर्माण आगामी मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पूर्वी खण्ड जामुने–मुग्लिनको निर्माण पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्याउने अवधि (डीएलपी) सुरु भइसकेको छ । डीएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मेवारी पनि निर्माण कम्पनीकै रहनेछ ।
४१ दशमलव ४५ किलोमिटर लामो पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा तथा अन्य क्षेत्रमा चार लेनमा विस्तार गरिएको छ । यस खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन् । तनहुँको मादी नदीमा निर्माण हुने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ ।
पाँच दशकअघि निर्माण भएको यो सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ साल वैशाखदेखि सुरु भएको थियो । पूर्वी खण्ड निर्माणको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पाएको थियो ।
पश्चिम खण्डका आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार सडकको करिब पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ । रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्ने तथा सडक सुरक्षासम्बन्धी काम तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका–१० स्थित अमरसिंहचोकदेखि सेती पुलसम्म तथा तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको छ । निर्माण सम्पन्न भएपछि पश्चिम खण्डमा एक वर्षसम्म डीएलपी लागू हुनेछ । त्यसपछि थप पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीकै रहनेछ ।
३८ दशमलव ८८ किलोमिटर लामो पश्चिम खण्डमा १८ दशमलव ५ किलोमिटर सडक छ लेनमा र बाँकी चार लेनमा निर्माण गरिएको छ । सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको इन्जिनियर कुँवरले बताउनुभयो । तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ । यस खण्डका १३ पुलमध्ये १२ वटा निर्माण भइसकेका छन् । पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ ।
जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड निर्माणका लागि २०७८ साल जेठ २ गते सम्झौता भई सोही वर्ष भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालन भएको यो आयोजना सरकारको प्राथमिकताप्राप्त सडक आयोजनामध्ये एक हो । निर्माणमा ढिलाइ भएपछि पोखराका पर्यटन व्यवसायीलगायतले कामलाई तीव्रता दिन दबाब दिएका थिए ।
सडक स्तरोन्नतिसँगै संघीय राजधानी काठमाडौं, चितवनलगायत स्थानबाट पोखरा आवतजावत सहज हुने अपेक्षा गरिएको छ । निर्माणका क्रममा धुलो र हिलोको सास्ती खेपेका यात्रुले फराकिलो सडकबाट यात्रा गर्न पाउने भएका छन् ।
सडक विस्तारसँगै पोखराका अमरसिंहचोक, अर्घौँचोक, बुद्धचोक र तालचोकलगायत क्षेत्रका साँघुरा चोकसमेत फराकिला बनेका छन् । सडक मापदण्डविपरीतका संरचना हटाएर चोक तथा सडक विस्तार गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्