जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार १३:२६

विवादमा मुछिएपछि न्यायाधीश हरि फुयाल बिदामा


काठमाडौं, कात्तिक १७ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किने गरी बिदामा बस्नुभएको छ।

सर्वोच्च अदालत प्रशासनका अनुसार उहाँले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिनुभएको हो। शुक्रबारपछि तिहारको सार्वजनिक बिदा सुरु हुने भएकाले उहाँ आगामी कात्तिक ३० गते मात्रै अदालतमा हाजिर हुनुहुनेछ।

उच्चपदस्थ अधिकारीहरूसँग सेटिङ मिलाउने प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग न्यायाधीश फुयालले होटल हिमालयमा भेट गरेको विवरण सार्वजनिक भएपछि उहाँ विवादमा तानिनुभएको थियो।

उक्त विवरण सार्वजनिक भएपछि फुयालले सापकोटासँग भेट भएको स्वीकार गर्दै त्यसबाट विचाराधीन मुद्दा प्रभावित नभएको स्पष्टीकरण दिनुभएको थियो।