जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार १३:१५

डोल्पा कारागारबाट फरार भएका आठ मध्ये दुई कैदी रुकुम पश्चिमबाट पक्राउ


काठमाडौं, कात्तिक १७ । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित खोली बगरबाट दुई जना फरार कैदी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । विक जबर्जस्ती करणीसम्बन्धी मुद्दामा र राना पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

पक्राउ परेका दुवै जनालाई गोतामकोट प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । डोल्पा कारागारबाट फरार भएका आठ जनामध्ये दुई जना पक्राउ परेका छन् ।

चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका थिए। फरार कैदीहरूको खोजी गर्ने क्रममा प्रहरीले दामाचौरबाट आठबिसकोट नगरपालिका–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गरेको थियो। जिप जाँच गर्ने क्रममा ती दुई कैदी भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

कारागारबाट फरार भएका बाँकी कैदीहरूको खोजी तथा पक्राउका लागि प्रहरीले खोजतलास अभियान जारी राखेको छ।