जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार १२:५८

अब प्रदेश सरकारले व्यक्ति विशेषका योजना समावेश गर्दैन, सडकको ट्याक खोल्ने काम पनि गर्दैन : मुख्यमन्त्री किरण थापा मगर


हेटौँडा, कात्तिक १७ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश नगर्ने स्पष्ट पार्नुभएको छ। उहाँले स्थानीय तहबाट सिफारिस भई आएका योजनालाई मात्र प्राथमिकता दिएर कार्यान्वयन गर्ने नीति प्रदेश सरकारले लिएको बताउनुभयो । 

जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री थापा मगरले व्यक्ति विशेषका योजनालाई प्राथमिकता दिँदा प्रदेशमा अत्यधिक टुक्रे योजनाको सङ्ख्या बढेको र त्यस्ता योजना सम्पन्न गर्नसमेत कठिनाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अब प्रदेश सरकारले व्यक्ति विशेषका योजना समावेश गर्दैन। स्थानीय तहबाट आएका योजनामा मात्र काम गर्छ। व्यक्ति विशेषका योजना समावेश गर्दा धेरै टुक्रे योजना बने। ती योजना पूरा गर्नै नसकिने अवस्था देखियो। प्रदेश सरकारले लगानी गरेको पनि नदेखिने अवस्था सिर्जना भयो।”

सडक पूर्वाधार निर्माणका विषयमा पनि प्रदेश सरकारले नयाँ मापदण्ड बनाउन लागेको उहाँले जानकारी दिनुभयो। अब ६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने र साना सडक निर्माणको जिम्मेवारी स्थानीय तहलाई नै दिने नीति अघि सारिएको उहाँको भनाइ थियो । “प्रदेश सरकारले अब कुनै पनि सडकको ट्र्याक खोल्ने काम गर्दैन। त्यो काम स्थानीय तहले नै गर्नुपर्छ। स्थानीय तहले मापदण्डअनुसार ट्र्याक खोलेका सडकको स्तरोन्नतिका लागि मात्र प्रदेश सरकारले काम गर्छ,” उहाँले स्पष्ट पार्नुभयो।

मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउँदै प्रदेशको काम छैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै त्यसको जवाफ सरकारले कामबाटै दिनुपर्ने बताउनुभयो। उहाँले प्रदेश काम छैन भन्ने जुन भाष्य निर्माण गरिएको छ, त्यसलाई कामले नै चिर्नुपर्ने बताउनुभयो। प्रदेश काम छ कि छैन भन्ने कुरा नागरिकले हेरिरहेका बताउँदै थापाले बागमती प्रदेशका १३ वटै जिल्लामा धेरै काम भएका तर त्यसको प्रचार गर्न नसकिएको बताउनुभयो । 

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै उहाँले जिल्लामै विशेषज्ञ सेवासहितका अस्पताल निर्माण हुँदा नागरिकले उपचारका लागि अन्यत्र धाउनुपर्ने र समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थाबाट राहत पाएको बताउनुभयो। त्यस्तै सडक, खानेपानी, अन्य पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रका प्रदेश सरकारले उल्लेख्य काम गरेको उहाँले दाबी गर्नुभयो । 

त्यसै गरी, संघीय तथा प्रदेश सरकारबाट स्थानीय तहमा पठाइएका योजना समयमै अनुगमन हुन सके कार्यान्वयनमा गुणस्तर कायम हुने उहाँको भनाइ छ। योजनाको प्रभावकारी अनुगमन गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिले पनि निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

बजेट कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले स्थानीय तहमा पठाइएका बजेट तथा कार्यक्रम कार्यान्वयनमा हुने ढिलासुस्तीले समग्र प्रगति प्रभावित हुने बताउनुभयो।

उहाँले स्थानीय तहलाई प्राप्त बजेट र कार्यक्रम समयमै कार्यान्वयन गर्न आग्रह गर्दै विकास निर्माणका काममा समन्वय, अनुगमन र प्रभावकारी कार्यसम्पादन आवश्यक रहेको धारणा राख्नुभयो।