हेटौँडा, कात्तिक १७। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ध्यान र योग केवल शारीरिक तथा मानसिक स्वस्थताको अभ्यास मात्र नभई आत्मा र परमात्मालाई जोडने उच्चतम साधना भएको बताउनुभएको छ ।
मकवानपुरको हेटौँडामा आयोजित निःशुल्क बृहत् योग विज्ञान शिविरमा बोल्दै उहाँले यसले शारीरिक स्वस्थता, मानसिक तन्दुरुस्तताका साथै मानसिक विकारहरूलाई बाहिर फाल्न समेत सघाउने बत्ताउनुभयो । ‘ध्यान र योग केवल शारीरिक तथा मानसिक स्वस्थताको अभ्यास मात्र होइन, न त कसरत मात्र हो, यो त आत्मा र परमात्मालाई जोडने उच्चतम साधना विधि हो शारीरिक स्वस्थता मानसिक तन्दुरुस्तता साथै मानसिक विकारहरूलाई बाहिर फालेर सुद्ध मन लिई सारा प्राणीहरूप्रति करुणाभाव जगाउने तथा आफूलाई आफू को हुँ भन्ने आत्मबोध समेत गराउने एक विशिष्टतम हाम्रो प्राचीन पद्धति हो’, उहाँले भन्नुभयो ।

उहाँले स्वास्थ्यको लागि ध्यानको निक्कै महत्त्व भएको बत्ताउनुभयो । ‘त्यसैले ध्यान गरौँ, योग गरौँ, स्वस्थ बनौँ । संसारलाई नै हाम्रो ज्ञान र अभ्यासको एक उच्चतम साधनाको माध्यमद्वारा स्वस्थ र जागृत बनाउने महाअभियानमा जुटौँ’, थापाले भन्नुभयो ।
बाग्मती प्रदेश सरकार हाम्रो प्राचीन विधि पद्धति तथा परम्परालाई आधुनिकतासँग जोड्दै नागरिकहरूलाई जागृत बनाउँदै स्वस्थ जीवन निर्माणको महाअभियानमा रहेको पनि उहाँले बत्ताउनुभयो । यसको लागि सबैले साथ र सहयोग गर्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पतञ्जलि योग हेटौँडा-७ नम्बर वडा समितिको आयोजना तथा वडा कार्यालयको सहयोगमा पाँचदिने योग शिविर राखिएको हो । ‘घरघरमा योग, जनजनमा योग’, ‘सबै निरोग, सदा निरोग’ तथा ‘सकारात्मक सोच निर्माण अभियान’जस्ता कार्यक्रममार्फत नागरिकको स्वास्थ्य र जीवनशैली सुधारमा योगदान पुर्याउने उद्देश्य शिविर राखिएको समितिको भनाइ छ।














प्रतिक्रिया दिनुहोस्