जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार २१:४८

उद्योगी व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध  : मुख्यमन्त्री किरण थापा मगर


हेटौँडा, कात्तिक १६ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आज हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मानमा आयोजना गरेकाे बधाई तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै उहाँले उद्योगी व्यवसायीलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउन प्रदेश सरकार लागिरहेको बताउनुभयो । “बागमती प्रदेश सबैभन्दा बढी उद्योग र उद्योगी व्यवसायी भएको प्रदेश हो । तपाईंहरूले विभिन्न उद्योग तथा कलकारखाना स्थापना गर्नुभएको छ । तपाईंहरूका समस्याहरू मैले बुझेको छु,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।

उहाँले उद्योगी व्यवसायीले बैंकको उच्च ब्याजदर, दक्ष कामदारको अभाव, मजदुर हडताल तथा उद्योग सञ्चालन भइरहेका बेला स्थानीयस्तरबाट हुने अवरोधलगायतका समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । “कहिले बैंकको ब्याज एकदम माथि १४–१५ प्रतिशत पुग्ने, कहिले दक्ष कामदार नपाउने, कहिले कारखानामा मजदुरहरूले हडताल गर्ने, राम्रोसँग उद्योग चलिरहेको बेला स्थानीयको अवरोध हुनेजस्ता समस्याहरू छन्,” उहाँले भन्नुभयो ।

यस्ता चुनौतीका बाबजुद पनि स्वदेशमै लगानी गरेर नेपालीलाई रोजगारी दिने काममा उद्योगी व्यवसायी लागिरहेको भन्दै उहाँले निजी क्षेत्रको योगदानको प्रशंसा गर्नुभयो । “तपाईंहरूले आफूले लगानी गरेर स्वदेशमै केही गरौँ, नेपालीहरूलाई रोजगारी दिऊँ भनेर काम गरिरहनुभएको छ । नेपालीलाई स्वरोजगार बनाउन र रोजगारी दिन तपाईंहरूको महत्वपूर्ण भूमिका छ,” मुख्यमन्त्रीले भन्नुभयो ।

उद्योग तथा कलकारखानाबाट प्राप्त हुने कर नै सरकार सञ्चालनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “उद्योग कारखाना चलाएर तपाईंहरूले तिर्नुभएको करबाट आज सरकार सञ्चालन भइरहेको छ । चाहे संघीय सरकार भनौँ, स्थानीय सरकार वा प्रदेश सरकार ।”

सरकारले करको दायरा बढाउँदा उद्योग व्यवसाय सञ्चालनमा समस्या पर्न सक्ने विषयप्रति आफूहरू सचेत रहेको उहाँको भनाइ थियो । प्रदेश सरकार करको दर बढाउनुभन्दा करको दायरा विस्तार गर्न केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । “प्रदेश सरकार करको दर बढाउनभन्दा पनि त्यसको दायरा बढाउन केन्द्रित भएर लागेको छ । व्यवसायीलाई कसरी सहजीकरण गर्ने, व्यवसायीसँग कसरी हातेमालो गरेर अगाडि बढ्ने भनेर प्रदेश सरकार लागिरहेको छ,” उहाँले बताउनुभयो ।

सडक पूर्वाधारको समस्याले विदेशी पर्यटकको आगमनसमेत घटेको उल्लेख गर्दै मुख्यमन्त्रीले बाढीका कारण अवरुद्ध सडक सञ्चालन गर्न प्रदेश सरकारले वैकल्पिक मार्गको व्यवस्था गरेको जानकारी दिनुभयो । “बाढीका कारण बन्द भएका सडक खुलाउन प्रदेश सरकारले वैकल्पिक बाटाहरू चलायो । जसले गर्दा काठमाडौंमा उपभोग्य सामानको अभाव हुन पाएन,” उहाँले भन्नुभयो ।

संकटको समयमा बजारमा कृत्रिम अभाव हुन नदिन नेपाल उद्योग वाणिज्य महासंघले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले महासंघको अनुगमनले काठमाडौं उपत्यकामा कालोबजारी नियन्त्रण गर्न सहयोग पुगेको बताउनुभयो । “यसपालि उद्योग वाणिज्य महासंघले गरेको अनुगमनले काठमाडौं उपत्यकाभित्र कालोबजारी हुन पाएन,” उहाँले भन्नुभयो ।

त्यस्तै, भीमफेदी हुँदै सिस्नेरी जाने वैकल्पिक सडक सञ्चालन गरिएका कारण ग्यासको अभावसमेत न्यूनीकरण भएको उहाँले बताउनुभयो । “प्रदेश सरकारले भीमफेदी हुँदै सिस्नेरी जाने वैकल्पिक बाटो खोलेर पनि जति मात्रामा ग्यासको अभाव हुन सक्थ्यो, त्यो हुन पाएन । त्यसमा उद्योगी व्यवसायीले गर्नुभएको सहयोगप्रति बागमती प्रदेश सरकार धन्यवाद दिन चाहन्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।

उहाँले संकटको समयमा आपूर्ति व्यवस्था सहज बनाउन उद्योगी व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।