जनता टाइम्स

१६ कार्तिक २०८३, सोमबार १७:२६

तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग


काठमाडौं, कात्तिक १६ । विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, बिचौलियासम्बन्धी विषय, न्यायालय र प्रहरीमाथि उठेका प्रश्न तथा पत्रकारहरूमाथि भएको धरपकडलगायतका विषयमा छलफल गर्दै संसद् बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्लो समय सार्वजनिक भएका विषयहरूको समाधान संसद्बाटै खोज्न सकिने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो।

सरकारले हरेक विषय अध्यादेशमार्फत अघि बढाउन खोजेकाले संसद्को भूमिका अपरिहार्य बनेको उहाँको भनाइ थियो। सरकारका पछिल्ला गतिविधिले संसद्को गरिमामाथि नै प्रश्न उठाएको पनि उहाँले बताउनुभयो।

बैठकले गम्भीर र संवेदनशील विषयको उचित टुङ्गो लगाउन विपक्षी दलका नेताहरूबीच थप छलफल गरी साझा धारणा बनाउने निर्णयसमेत गरेको छ। देश र जनताको हितका लागि विपक्षी दलहरूबीच निरन्तर सहकार्य गर्ने सहमति भएको आङ्देम्बेले जानकारी दिनुभयो।

महाभियोगको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट नभएको उल्लेख गर्दै उहाँले रास्वपाले यो विषय उठाएमा विपक्षी दलहरूले आवश्यक धारणा बनाउने बताउनुभयो।