काठमाडौं, कात्तिक १७ । यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार मनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको उत्तम शुभसाइत साे दिन बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर बस्नुपर्नेछ भने दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ।
समितिले सार्वजनिक गरेको तिहारको पर्वतालिकाअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ। त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ।
कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ। त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ।
यसैगरी, कात्तिक २४ गते मंगलबार गोवर्द्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने समितिले जनाएको छ। सोही दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
तिहारको अन्तिम तथा विशेष पर्वका रूपमा कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका (किजापूजा) मनाइनेछ।
भाइटीका नेपाली हिन्दू समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह, सद्भाव र आपसी सम्बन्धलाई प्रगाढ बनाउने विशेष पर्वका रूपमा मनाइँदै आएको छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका र माला लगाइदिने परम्परा छ।















प्रतिक्रिया दिनुहोस्