काठमाडौं, कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
आज साँझ सम्पन्न खेलमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीले ५० बल बाँकी छँदै सहज जित निकालेको हो।
लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले अविजित ४७ रनको उत्कृष्ट पारी खेले। त्यस्तै, निरोशन डिकवेला २७ रनमा अविजित रहे। पोखराका विपिन खत्रीले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो।
पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पोखरालाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमानले सर्वाधिक तीन विकेट लिए। तिलक भण्डारीले दुई विकेट हात पार्दा शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले समान एक–एक विकेट लिए।
यस जितसँगै लुम्बिनीले तीन खेलबाट दुई जित र एक अनिर्णित खेलसहित पाँच अंक जोडेको छ। पाँच अंकसहित लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
अर्कोतर्फ पोखरा एभेन्जर्सका लागि प्रतियोगितामा यो लगातार तेस्रो हार हो। तीन खेल खेलेको पोखरा जितविहीन रहँदै अंकतालिकाको पुछारमा छ।














प्रतिक्रिया दिनुहोस्