जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार २०:२०

जनतालाई चिमोट्ने र आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्यो : प्रचण्ड


काठमाडौं, कात्तिक १७ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।

मंगलबार काठमाडौंमा नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले जनतालाई चिमोट्ने, भुत्त्याउने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति हाबी हुँदै गएको बताउनुभयो।

देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधर शक्तिहरू पुनः एकताबद्ध हुनुपर्ने उहाँको भनाइ छ। मुलुकलाई सही दिशामा अघि बढाउन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको उहाँले बताउनुभयो।

विभिन्न ठाउँमा पुग्दा आफूहरूमाथि आलोचना र विरोध हुने गरेको स्वीकार गर्दै प्रचण्डले विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। आफ्ना कमजोरीबारे खुलेर बोल्न र आत्मसमीक्षा गर्न डराउन नहुने उहाँको भनाइ छ।

‘यतिबेला देशमा विवेक हराएको छ। राज्यमा विचार हराएको छ। आवेग, आग्रह, पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, भुत्त्याउने र सबैलाई आतङ्कित पार्ने प्रवृत्ति हाबी छ,’ उहाँले भन्नुभयो।

उहाँले विवेक, विचार र सिद्धान्तका पक्षधर तथा जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरू फेरि एकताको झण्डामुनि गोलबद्ध हुनुपर्ने बताउनुभयो।

एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य गर्ने विषयमा तीनबुँदे निर्णय भएको उल्लेख गर्दै उहाँले माधवकुमार नेपालले मोहनविक्रम सिंहसँग पनि सहकार्यको प्रस्ताव राख्नुभएको जानकारी दिनुभयो। मनमोहन अधिकारीसँगको एकताका बेला उत्पन्न उत्साहको उदाहरण दिँदै मोहनविक्रम सिंहसँग सहकार्य गर्ने वातावरणसमेत बनेको उहाँले बताउनुभयो।

माधवकुमार नेपाल र आफूबीच भएका छलफलको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले मुलुकको जिम्मेवारी फेरि एकपटक लिनुपर्ने अवस्था आएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘पूर्व, पश्चिम, तराई, मधेस र पहाड जहाँ जाँदा पनि हामीलाई आलोचना गर्ने र विरोध गर्नेको कमी छैन। हामीले कहाँ कमजोरी गर्‍यौँ भन्ने महसुस गरेका छौँ। तर हामी आफैँले यो कुरा भन्न र बोल्न डराइरहेका छौँ। यस्तो हुनुहुँदैन।’

आसन्न स्थानीय तथा प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै प्रचण्डले पार्टी संगठन सुदृढीकरणमा जुट्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ।