काठमाडौं, कात्तिक १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले कर्मचारीतन्त्रमा आतंक सिर्जना गरेको आरोप लगाउनुभएको छ। उहाँले अध्यादेशमार्फत देश चलाउन खोजिएको भन्दै संसद् बैठक तत्काल बोलाउन माग गर्नुभएको छ।
मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै आङ्देम्बेले कर्मचारीहरूलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएर लैजाने गरिएको बताउनुभयो।
‘कर्मचारीहरूलाई कार्यस्थलबाटै उठाएर ल्याउने गरिएको छ। प्रधानमन्त्री कार्यालय नै झन्डैझन्डै यातना गृहजस्तो भएको अनुभूति सबैले गरिरहेका छन्। यसको निकास संसद्बाट खोज्नुपर्छ,’ उहाँले भन्नुभयो।
विपक्षी दलहरूको संयुक्त बैठक र कांग्रेस संसदीय दलको बैठकका निर्णय लिएर सभामुखलाई भेट्न पुग्नुभएका आङ्देम्बेले संसद्बाहिर उठिरहेका संवेदनशील विषयको समाधान संसद्भित्रै खोज्नुपर्ने बताउनुभयो।
देशमा गम्भीर समस्याहरू देखिएकाले संसद्लाई लामो समयसम्म निष्क्रिय राख्न नहुने उहाँको भनाइ थियो। बाहिर उठेका विषयलाई अन्योलमा राख्नुभन्दा संसद्मा छलफल गराउनुपर्ने र बैठक चाँडै बोलाउन आफूहरूले आग्रह गरेको उहाँले जानकारी दिनुभयो।
प्रेसमाथिको हस्तक्षेप, न्यायालयभित्र देखिएका विचलन, प्रहरी प्रशासनको कार्यशैली तथा प्रधानमन्त्रीसमेत जोडिएका विषयमा संसद्मा खुला संवाद आवश्यक रहेको उहाँले बताउनुभयो।
संसद्को आवश्यकता सबैले महसुस गरिरहेको अवस्थामा सरकार भने अध्यादेशमार्फत अघि बढ्न खोजेको आरोप लगाउँदै आङ्देम्बेले यस्तो प्रवृत्तिले लोकतन्त्रको मर्ममाथि प्रश्न उठाउने बताउनुभयो।
उहाँले भोटेकोशी र रसुवाका बाढीपहिरो पीडितलाई राज्यले बिर्सिएको आरोपसमेत लगाउनुभयो। बाढीपहिरो प्रभावित क्षेत्रमा ठूलो सहयोग जुटे पनि त्यसको सदुपयोगबारे जानकारी नभएको र पीडितलाई घरभाडाबापत दिने भनिएको १५ हजार रुपैयाँसमेत उपलब्ध नगराइएको उहाँको भनाइ थियो।
बजारमा महँगी बढेको, बिचौलियाको प्रभाव बढेको र सर्वत्र त्रासको वातावरण रहेको उल्लेख गर्दै उहाँले जनसरोकारका विषयमा संसद् मूकदर्शक बन्न नसक्ने बताउनुभयो।
विपक्षी दलहरूले उठाएका चासो र निर्णयबारे सभामुख अर्याललाई औपचारिक जानकारी गराइएको तथा छिटोभन्दा छिटो संसद् बैठक आह्वानका लागि पहल गर्न आग्रह गरिएको आङ्देम्बेले जानकारी दिनुभयो।














प्रतिक्रिया दिनुहोस्