जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार २०:०७

एमालेसहित सबै कम्युनिस्ट पार्टीसँग एकता गर्न प्रचण्डको प्रस्ताव


काठमाडौं, कात्तिक १७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सबै कम्युनिस्ट पार्टी र समूहलाई एकताबद्ध हुन प्रस्ताव गर्नुभएको छ।

देश अहिले असाधारण संकटमा रहेको उल्लेख गर्दै उहाँले कम्युनिस्ट शक्तिहरूबीच एकता आजको वस्तुगत आवश्यकता भएको बताउनुभयो।

मंगलबार पेरिसडाँडामा नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सबै कम्युनिस्ट नेताहरूलाई एकताका लागि आह्वान गर्नुभयो।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले केपी शर्मा ओलीको नाम लिँदा आशंका व्यक्त गर्नुभएको प्रसंग उल्लेख गर्दै दाहालले आफूलाई भने त्यस्तो नलागेको बताउनुभयो।

उहाँले केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत बाँकी सबै कम्युनिस्ट समूह एकजुट हुनुपर्ने धारणा राख्नुभयो।

देशभक्त र लोकतन्त्रवादी शक्तिहरूबीचको एकता अहिलेको ऐतिहासिक आवश्यकता भएको उहाँको भनाइ थियो। विगतमा विभिन्न रूपमा सहकार्य, एकता र उतारचढाव भोगेका शक्तिहरू एक ठाउँमा आउनुपर्ने उहाँले बताउनुभयो।

देश असाधारण संकटमा रहेकाले सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई फराकिलो बनाउनुपर्नेमा जोड दिँदै दाहालले आग्रह–पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।