काठमाडौं, कात्तिक १७ । वेस्ट इन्डिजका स्टार अलराउन्डर एन्ड्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को अनुभव आफूलाई निकै मन परेको बताउनुभएको छ। उहाँले अर्को संस्करणमा पनि नेपाल आएर पूरा सिजन खेल्ने आशा व्यक्त गर्नुभएको छ।
एनपीएलको जारी तेस्रो संस्करणमा विराटनगर बोल्ट्सबाट खेलिरहेका रसेलले सोमबार जनकपुर बोल्ट्सविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो पटक प्लेयर अफ द म्याचको अवार्ड जित्नुभयो।
जनकपुरविरुद्धको खेलमा रसेलले ब्याटिङतर्फ २९ बलमा ५२ रन बनाउनुभयो भने बलिङमा ४५ रन खर्चेर चार विकेट लिनुभयो। उहाँको उत्कृष्ट प्रदर्शनमा विराटनगरले जनकपुरलाई दुई रनले पराजित गर्यो।
अन्तिम ओभरमा जनकपुरलाई जितका लागि १३ रन आवश्यक थियो। तर रसेलले कसिलो बलिङ गर्दै विराटनगरलाई जित दिलाउनुभयो।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रसेलले आफू अलराउन्डर र डेथ बलरका रूपमा यस्तै चुनौतीपूर्ण क्षणको प्रतीक्षामा रहने बताउनुभयो। उहाँले भन्नुभयो, ‘१० रन मात्र बचाउनु परे पनि म आफूमा विश्वास गर्छु। आज १३ रन डिफेन्ड गर्न पाउनु निकै राम्रो कुरा थियो।’
नेपाली क्रिकेटको प्रशंसा गर्दै रसेलले नेपालमा धेरै प्रतिभाशाली खेलाडी रहेको बताउनुभयो। आगामी केही वर्षमा नेपालले विश्वका ठूला टोलीलाई हराउन सक्ने उहाँको विश्वास छ।
‘नेपालमा धेरै प्रतिभा छ। यहाँ सजिलै रन बन्दैन। पिचमा बल घुमिरहेको छ र बाउन्स कम छ, जसले गर्दा राम्रो चुनौती मिलेको छ,’ उहाँले भन्नुभयो।
नेपाली खेलाडीसँगको अनुभव सुनाउँदै रसेलले कप्तान सन्दीप लामिछानेको प्रशंसा गर्नुभयो। आईपीएलमा सन्दीपसँग भेट हुँदा उहाँ सधैँ हाँस्ने र रमाइलो गर्ने गरेको स्मरण गर्दै रसेलले नेपाल आएपछि यहाँका मानिसहरूको आत्मीयता बुझ्न पाएको बताउनुभयो।
‘मैले विश्वभर सयौँ खेलाडीसँग खेलेको छु, तर यहाँको चेन्जिङ रुम मैले अनुभव गरेकामध्ये सबैभन्दा खुसी चेन्जिङ रुम हो। म आफूलाई ठूलो सुपरस्टार ठान्दिनँ। उनीहरूसँगै मैदानभित्र र बाहिर रमाइलो गर्छु,’ उहाँले भन्नुभयो।
रसेलले युवा ब्याटर लोकेश बमलाई मेन्टरिङ गरिरहेको पनि बताउनुभयो। सुरुमा लोकेश केही आक्रामक स्वभावको देखिए पनि आफूले सम्झाएपछि उहाँको इनिङ्स निर्माण गर्ने शैलीमा सकारात्मक परिवर्तन आएको रसेलको भनाइ छ।
टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्नुभएको रसेलले पाँच वर्षअघि देखेको सपना पूरा भएको बताउनुभयो। ५०० विकेट र १० हजार रन पूरा गर्ने पहिलो फास्ट बलिङ अलराउन्डर बन्ने आफ्नो लक्ष्य रहेको उहाँले खुलाउनुभयो।
चोटपटक र शल्यक्रियाका बाबजुद उक्त उपलब्धि हासिल गर्न पाउँदा गर्व लागेको बताउँदै उहाँले अबका खेलाडीले यो लक्ष्य भेट्टाउन विशेष क्षमता देखाउनुपर्ने धारणा राख्नुभयो।
नेपालको प्राकृतिक सौन्दर्यबाट पनि आफू प्रभावित भएको रसेलले बताउनुभयो। बिहान कोठाबाटै हिमाल देख्न पाउनु अद्भुत अनुभव भएको उल्लेख गर्दै उहाँले सगरमाथाबारे बाल्यकालदेखि सुन्दै आएको स्मरण गर्नुभयो।
‘यो देश सुन्दर र सफा छ। यहाँका मानिसहरू प्यारा छन्,’ उहाँले भन्नुभयो।
अर्को वर्ष पनि एनपीएल खेल्न नेपाल आउने इच्छा व्यक्त गर्नुभएका रसेलले पत्रकार सम्मेलनको अन्त्यमा मुस्कुराउँदै भन्नुभयो, ‘मलाई नेपाल यति धेरै मन पर्यो कि म यतै बस्दैछु, घर जान्नँ।’
यद्यपि रसेलले यस संस्करणको एनपीएलमा अब एक खेल मात्र खेल्ने बताउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्