काठमाडौं, कात्तिक १५ । जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ। आइतबार सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो। लगातार दोस्रो हारसँगै पोखराको यात्रा भने दबाबमा परेको छ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो। प्रतिस्पर्धात्मक खेलमा पोखराका ब्याटरहरूले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोलीले जितको लक्ष्य पूरा गर्न सकेन।
पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलको सामना गर्दै पाँच चौका प्रहार गरे पनि उनको प्रदर्शन टोलीलाई जित दिलाउन पर्याप्त भएन।
त्यस्तै, विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ तथा किरण ठगुन्नाले १५ रन बनाए। प्रतिक पोखरेल २ रनमा अविजित रहे।
पोखराका अन्य ब्याटरमध्ये महेदी हसनले ८, शाकिब अल हसनले ९, अर्जुन घर्तीले ७ र चमिका करुणारत्नेले ४ रन बनाए। ओपनर दिनेश खरेल ३ रनमा आउट भए भने मोहम्मद सैफुद्दिनले खाता खोल्न सकेनन्।
जनकपुरको जितमा स्पिनरहरूले महत्वपूर्ण भूमिका निर्वाह गरे। मोइन अलीले सर्वाधिक तीन विकेट लिए। कप्तान हर्मीत सिंह र सैफ हसनले दुई-दुई विकेट हात पारे। त्यस्तै, जिम्मी निशम र ललित राजवंशीले एक-एक विकेट लिए।
जनकपुरका बलरहरूको कसिलो प्रदर्शनका कारण पोखराले लक्ष्यसम्म पुग्न सकेन। यस जितसँगै जनकपुरले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्दा पोखराले लगातार दोस्रो हार बेहोरेको छ।














प्रतिक्रिया दिनुहोस्